नेपालस्थित अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेपछि लामिछानेका समर्थकले दूतावासकाे सामाजिक सञ्जालमा आक्रोश पोखेका छन् । दूतावासको फेसबुक पेज र एक्स ह्यान्डलमा क्रिकेट समर्थकले आक्रोश पोखेका हुन् ।
दूतावासले सामाजिक सञ्जाल फेसबुकमा राखेका पोस्ट हेर्ने हो भने ‘एङ्ग्री’ (रिसाएको) रियाक्टको बाढी नै लागेको देख्न सकिन्छ । सामाजिक सञ्जालका पोस्टमा आएका रियाक्सन हेर्ने हो भने ७० प्रतिशत बढी एङ्ग्री रियाक्ट मात्र गरेको देख्न सकिन्छ ।

समर्थकहरूले सो पेजका पोस्टमा कमेन्ट गर्दै लामिछानेलाई भिसा उपलब्ध गराउन दबाब दिएका छन् । त्यसका लागि लामिछानेको समर्थनमा विभिन्न ह्याशट्याग राखिएका छन् । कतिपयले भने सन्दीपलाई भिसा नदिए दूतावासको भवनमा ढुङ्गामुढा गर्ने चेतावनी दिएका छन् ।

कतिपयले भने लामिछानेलाई भिसा दिन अस्वीकार गर्नुको कारण के भन्दै प्रश्न तेर्साएका छन् । बुधबार बेलुका ५ बजेर ५० मिनेट जाँदा लामिछानेले सामाजिक सञ्जालमार्फत अमेरिकी दुतावासले आफूलाई भिसा दिन अस्वीकार गरेको जानकारी दिएका थिए । त्यस लगत्तै लामिछानेको समर्थनमा सामाजिक सञ्जाल प्रयोगकर्ताले आक्रोश पोख्न थालेका हुन् ।
You must be logged in to post a comment.